सर्वदलीय बैठक सुरु: सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल जारी

9 Shares

काठमाडौं । सुनसरीमा घटेको घटना र त्यसले उत्पन्न गराएको असहज परिस्थितिका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा जारी उक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुनुभएको छ।

सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न बिहान ८ बजेदेखि बैठक सुरु भएको हो। छलफलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।

सभापति लामिछानेको सचिवालयका अनुसार बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गरिनुका साथै सभापतिले आफैँ फोन गरेर नेताहरूलाई उपस्थितिका लागि आग्रह गर्नुभएको थियो।

बैठकको औचित्यमाथि प्रकाश पार्दै रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले भन्नुभयो, "अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले यो छलफल आयोजना गरेका हौँ।"

हाल बैठकमा सुनसरी घटनाको वस्तुस्थिति, सामाजिक सद्भाव कायम राख्ने उपायहरू र शान्ति सुरक्षा सुदृढ पार्ने विषयमा गहन छलफल भइरहेको छ।