काठमाडाैं । दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङले आफ्ना आगामी स्मार्ट चस्माका विस्तृत विशेषता तथा रणनीतिक योजनाहरू सार्वजनिक गरेको छ। ग्यालेक्सी अनप्याक्ड इभेन्ट पश्चात आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले यस डिभाइसका बारेमा जानकारी दिएको हो।
स्मार्टफोनलाई पूर्ण रूपमा विस्थापन गर्नेभन्दा पनि मोबाइल प्रयोगको अनुभवलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले यो चस्मा डिजाइन गरिएको सामसङले जनाएको छ। क्वालकम स्न्यापड्रागन एआर-१ जेन-१ चिपसेटद्वारा सञ्चालित यो डिभाइस प्रयोग गर्न स्मार्टफोनसँग जोड्न आवश्यक हुन्छ। यसमा इन-बिल्ट क्यामेरा, स्पिकर तथा पोर्टेबल चार्जिङ केस उपलब्ध गराइएको छ। साथै, यस चस्मालाई ग्यालेक्सी स्मार्टवाच वा ग्यालेक्सी रिङमार्फत हातको इसारा (जेस्चर कन्ट्रोल) बाट समेत नियन्त्रण गर्न सकिनेछ।
बजारमा सन् २०२१ देखि एकछत्र राज गर्दै आएको मेटाको रे-ब्यान सिरिजसँग सामसङको यो उत्पादनले कडा प्रतिस्पर्धा गर्नेछ। प्रिमियम वर्गमा लक्षित यो चस्माको मूल्य भने सामसङले हालसम्म खुलाएको छैन।
विश्लेषकहरूले यसको मूल्य ६०० देखि ७०० डलरको बीचमा हुन सक्ने अनुमान गरेका छन्। सामसङले जेन्टल मोन्स्टर र वार्बी पार्कर जस्ता प्रख्यात ब्रान्डहरूसँग सहकार्य गर्दै आगामी शरद ऋतुमा यो चस्मा विभिन्न डिजाइन तथा रङहरूमा बजारमा ल्याउने तयारी गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया