काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा मिति २०८३ साउन १० गते भएको अप्रिय घटना र त्यसपछिको परिस्थितिप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सरकारले उक्त घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृत’आत्माको चिरशान्तिको कामना गरेको छ भने घटनामा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
घटनामा घाइते भएकाहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको सरकारले स्पष्ट पारेको छ । यसका साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस किसिमका घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न गृह मन्त्रालयले एक छानबिन समिति गठन गरिसकेको र उक्त समितिले आफ्नो कार्यसमेत प्रारम्भ गरिसकेको छ ।
सरकारले हिंसा वा मुठभेडबाट कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हुन नसक्ने स्पष्ट पार्दै पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्ण्ॉता, आपसी एकता र सामाजिक सद्भावलाई खलल पुर्याउने किसिमका गतिविधिमा संलग्न नहुन, किसीमका उत्तेजना वा भ्रामक सूचना नफैलाउन तथा त्यस्ता भ्रमबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध सबै पक्षहरूमा नेपाल सरकारले हार्दिक अपिल गरेको छ ।
देशमा शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायलाई सरकारले हार्दिक आह्वानसमेत गरेको छ ।
साउने सोमबारको व्रतका लागि हिन्दु धर्मावलम्बीहरूले निकालेको बोलबम यात्रा र डिजे बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । सोही विवाद पछि बढ्दै गएपछि उग्र रुप लिएको थियो ।
स्थिति नियन्त्रणमा लिने क्रममा भएको झडपमा परी २४ वर्षीय ओमप्रकाश मेहताको निधन भएको छ भने सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।
स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले सुनसरीका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया