काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याउँदै आएका झन्डै तीन दर्जन उद्योगपतिहरूसँग अर्थ मन्त्रालयमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको आह्वानमा उक्त “बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम“ आयोजना गरिएको हो ।
कार्यक्रममा अर्थतन्त्रका विविध आयाम र उत्पादनमूलक क्षेत्रका समस्या तथा सम्भावनाका बारेमा गहन विमर्श भएको छ ।

कार्यक्रममा वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी लगायत अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
देशका विभिन्न क्षेत्रबाट अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याउँदै आएका करिब तीन दर्जन उद्योगपति तथा उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो ।
आगामी आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र औद्योगिक क्षेत्रका अवरोधहरू हटाउन मन्त्रालय र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको मन्त्रालयको सचिवालयले जनाएको छ ।






फेसबुकबाट तपाईको प्रतिक्रिया