विश्वका विज्ञमध्ये शिर्ष १० मा वीपी धरानका डा. यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघको उच्चस्तरीय समितिमा चयन

11 Shares

सुनसरी । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर तथा डाइबिटोलोजिष्ट डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (International Diabetes Federation – IDF)  को प्रतिष्ठित Physical Activity Implementation Committee  मा चयन हुनुभएको छ। विश्वभरका सयौँ देशका विज्ञहरूमध्येबाट उक्त समितिमा चयन भएका शिर्ष १० विशेषज्ञहरूमा नेपालका तर्फबाट डा. यादव परेका छन् । 

विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था (IDF) ले मधुमेह तथा यसका जटिलताहरू रोकथाम गर्न शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो समिति गठन गरेको हो । समितिले "Activate, Activate, Activate" "Prevention, Prevention, Prevention" भन्ने मूल नाराका साथ कार्य गर्नेछ ।

डा. यादव विगत लामो समयदेखि मधुमेह (Diabetes) को प्रत्यक्ष उपचार, परामर्श तथा रोकथाममा सक्रिय छन् । उनले विभिन्न रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल जस्ता श्रव्य-दृश्य (Audio-Visual) माध्यमहरूका साथै प्रत्यक्ष जनचेतनामूलक अभियानहरू मार्फत समाजमा मधुमेह रोकथाम र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउन निरन्तर महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । उनको दीर्घकालीन समर्पण र यिनै विशेषज्ञताकै परिणामस्वरूप आज वहाँले उक्त अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । 

अन्तर्राष्ट्रिय स्तरको यस शीर्ष १० को सूचीमा नेपालको प्रतिनिधित्व हुनु प्रतिष्ठानका साथै देशकै लागि पनि एउटा महत्वपूर्ण उपलब्धि र गर्वको विषय हो । डा. यादवको उक्त सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई अझ उच्च बनाउने र स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । यस महत्त्वपूर्ण सफलताका लागि प्रतिष्ठान परिवार गौरवान्वित महसुस गर्दै डा. यादवलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ । साथै, प्रतिष्ठान मधुमेह रोकथाम र स्वस्थ जीवनशैलीका लागि सजग र एकजुट हुन सम्पूर्णमा आग्रह समेत गर्दछ ।